पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा, छायो स्थानीयवासीमा खुसीयाली

Ad
  • कालोपाटी सम्बाददाता

खलङ्गा । पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहँुचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा सिँचाइ गरेर खेती गर्न थालेका छन् ।

कच्ची कुलो हुँदा पटक–पटक पहिराले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो । वडा नं ७ स्थित सुधारसिल कृषक समूहले एक सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ ।

यो कुलाले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिराको उच्च जोखिम थियो । कुलामा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो । पक्की कुलो बनेपछि पहिराको जोखिम हटेको छ ।

कुलाले गाउँमा रहेको निर्भरता कम हुने र गाउँमा पहिरो जान घट्ने तथा आफ्नै जमिनमा तरकारी र अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताउनुभयो ।

समुदायमा बाढी पहिराको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरिएको छ । कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सोे सिँचाइ कुलो निर्माण गरिएको हो । सिँचाइ कुलो निर्माणका लागि पेस नेपालले दुई लाख ५० हजार र वडा कार्यालयले रु ४० हजार लगानी गरेको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्