एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् । समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका-८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गरेका हुन् । वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य एक करोड ५० लाख गर्ने जनाइएको छ ।

लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्र स्थापनाकालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो । क्लबका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा सङ्घका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।

सो जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट सञ्चालन गर्नेगरी आवश्यक प्रक्रियासमेत अघि बढाइसकिएको उहाँले जानकारी दिनुभयो । लायन्स क्लबका पूर्वअध्यक्ष भीमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । पाण्डेले पहिलो तल्ला आफ्नै परिवारका नाममा बनाइदिने घोषणासमेत गर्नुभएको सिलवालले जानकारी दिए ।

भवन निर्माणपछि सो केन्द्रलाई शल्यक्रियासहित हुने गरी फेको सेन्टरका रुपमा विकास गर्ने तयारी गरिएको छ । सिलवालका अनुसार माथिल्ला तल्ला बनाउनका लागि पनि दाता इच्छुक देखिएकाले छलफल भइरहेको छ । केन्द्रमा हाल दैनिक ३५ हाराहारीले सेवा लिइरहेका छन् । बढी बिरामी भएका दिन यो सङ्ख्या ६५ पुग्ने गरेको उहाँले जानकारी दिए।

सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल मुख्य रहेको छ भने सेकेन्डरी क्लिनिकका रुपमा ठोरी र कावासोतीमा शल्यक्रियासहितको सेवा दिइँदै आएको छ । त्यसैगरी केन्द्र माडी, पर्सा, रत्ननगर, चनौली र कुरिनटारमा सञ्चालनमा रहेको छ । अन्य जिल्लामा सिन्धुलीको दुधौली, धादिङको सल्यान्टरा, बाराको सिम्रनगढ, नवलपुरको हुप्सिकोट र चोरमारामा पनि केन्द्र रहेको छ ।

भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ । यही १० गते धादिङको बेनिघाटमा केन्द्र सञ्चालनमा ल्याइँदै छ । अस्पतालले एक वर्षमा दुई लाख हाराहारी बिरामीलाई सेवा दिँदै आएको छ । यही अस्पतालको फेको सेन्टरका रुपमा पर्सालाई विकास गरिँदै छ ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्