शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताउनुभएको हो । “शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४० औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उहाँले भन्नुभयो, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”

मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताउनुभयो । कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उहाँले जानकारी दिनुभयो । “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले भन्नुभयो । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उहाँले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राख्नुभयो ।

मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्