कर सङ्कलन ३३ प्रतिशत बढी

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताउनुभयो ।

‘‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’’, नेपालले भन्नुभयोे, ‘‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ ।

कार्यालयले गत असोज महिनामा मात्रै एक करोड ७० लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महिनामा तीन करोड ६८ लाख आयकर सङ्कलन भएको नेपालले जानकारी दिनुभयो । असोज महिनासम्म रु पाँच करोड ८३ लाख आयकर सङ्कलन गर्ने लक्ष्यमा १९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर सङ्कलन गर्न सफल भएको हो ।

त्यस्तै घरबहाल कर तर्फ भने कर सङ्कलनमा कमी भएको छ । रु १४ लाख सङ्कलन गर्ने भनिएकोमा असोजमा तीन लाख ६५ हजार मात्रै सङ्कलन भएको छ । असोज मसान्तसम्ममा रु पाँच करोड ८६ लाख सङ्कलन गर्ने भनिएकोमा पनि सो पूरा नभइ तीन करोड नौ लाख मात्रै कर सङ्कलन भएको छ । भ्याटतर्फ २६ करोड सङ्कलन गर्ने भनिएकोमा ५६ प्रतिशत मात्रै पूरा भएको थियो ।

त्यसमा रु १४ करोड ९६ लाख मात्रै सङ्कलन भएको हो । असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । नौ करोड ३ लाख सङ्कलन गर्नेमा ९४ करोड ९१ लाख सङ्कलन गरेर १०५ प्रतिशत प्रगति गरेको नेपालले बताउनुभयो । त्यसबाहेक कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि सङ्कलन गर्ने गरेको छ ।

बागलुङमा भने चालू वर्ष शिक्षा स्वास्थ्य कर सङ्कलन भएको छैन । अन्तशुल्क तर्फ रु दुई करोड ६५ लाख लक्ष्य रहेको असोजमा तीन करोड ६६ लाख र असोज मसान्तसम्ममा रु आठ करोड ३८ लाखको लक्ष्यमा १८० प्रतिशत प्रगति गरेर रु १५ करोड १ लाख कर सङ्कलन भएको छ । सबै शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले १३३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर सङ्कलन गर्न सफल भएको हो ।

पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि सुरु भएको छ । अहिले बागलुङ कार्यालयमार्फत १७ हजार बढीले कर तिर्ने गरेका छन् । केही समयअघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ ।

उक्त कार्यालयमार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । सीमित जनशक्ती भए पनि करदाताले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि भने कार्यालयले हरेक वर्ष लक्ष्य भन्दा बढी कर सङ्कलन गरेर प्रगतिसमेत देखाउन थालेको छ । पछिल्लो समय कार्यालयबाट प्यान नम्बर लिने र रोजगार भएका र मजदूरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको प्यान नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीको भनाइ छ । –RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्