कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

Ad
  • कालोपाटी सम्बाददाता

रामपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् ।

प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम नागरिकले गुनासो गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा कार्यालय प्रमुख नहुँदा दैनिक कार्य सम्पादनदेखि कार्यालयमा कार्यरत कर्मचारीको तलवबाट वञ्चित हुनुपरेको कार्यालयका कर्मचारी बताउँछन् ।

रामपुर नगरपालिका–२ स्थित खयरबोट खानेपानी आयोजना पनि प्रभावित बन्न पुगेको छ । योजना सिफारिस भए पनि कार्यालय प्रमुखको समस्याले अहिलेसम्म काम अगाडि बढ्न नसकेको रामपुुर–२ का वडा सदस्य बालकुमारी थापाले बताए । “आयोजना सिफारिस भए पनि निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन, स्थानीयले काम किन सुरु भएन भनेर गुनासो गरिरहनुहुन्छ, खानेपानी कार्यालयमा फोन गरेर बुझ्दा काम हुन्छ भन्छन् ”, उनले भने ।

गत वर्ष नै नाप जाँच गरिएको यस खानेपानी आयोजनाबाट करिब ४०० घरधुरीका उपभोक्ता लाभान्वित हुनेछन् । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्री पाल्पाबाट छन् तर कार्यालय प्रमुखको व्यवस्थापनमा भने पहल नभएको स्थानीयले गुनासो गरेका छन् । मन्त्रालयको स्रोतका अनुसार रुपन्देहीको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख अनुपकुमार चौधरी र गुल्मीमा कार्यरत डिभिजन प्रमुख अनुपकुमार उपाध्यायमध्ये एक जनालाई पाल्पा सरुवा गर्ने भनिए पनि अहिलेसम्म कार्यालय प्रमुखको टुङ्गो लाग्न भने सकेको छैन । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्