बेमौसमी तरकारीबाट मनग्य आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

मान्म । बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रम एएसडीपी ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताए । “खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७-०७८ मा मात्र बेमौसमी तरकारी मूल्य शृङ्खलाअन्तर्गत ११ वटा कृषक समूहका ३०३ घरधुरी समूहमा आबद्ध रहेका छन्”, उनले भने , “समूहमा आबद्ध रहेका सदस्यलाई थोपा सिँचाइसहितको प्लास्टिक टनेल, तरकारीको बीउ र जैविक विषादी उपलब्ध गराउनुका साथै प्रत्येक समूहमा सिँचाइ पोखरीसमेत निर्माण भएका छन् ।”

बेमौसमी तरकारी खेती मात्र नभएर पशुपालनका क्षेत्रमा पनि यस कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमअन्र्तगत दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक ऐडीले बताए  । “दुग्ध उत्पादनका लागि ४ वटा भैँसीपालन कृषक समूहका ९६ कृषक सदस्य आबद्ध छन्”, उनले भने , “यो कार्यक्रमबाट एक-एक रोपनी बराबर उन्नत जातको घाँस खेती, घाँस काट्ने मेसिन र भैँसीको गोठ सुधार तथा प्रत्येक समूहमा एक-एक वटा नश्ल सुधारका लागि उन्नत जातको राँगोसमेत दिइएको छ ।”

सङ्घीय कृषि तथा पशुन्छी मन्त्रालयअन्तर्गतको यो कार्यक्रम ६ वर्षसम्मका लागि सञ्चालनमा रहेको बताइएको छ । बेमौसमी तरकारी खेतीका लागि यो कार्यक्रमले किसानलाई आर्थिक सहयोग प्रदान गरेकाले उनीहरु यसको खेतीतर्फ आकर्षित भएको खाँडाचक्र नगरपालिका–२ गैरागाउँका किसान हजुरा विष्टले बताए । “कृषक समूह र तरकारी बिक्री वितरण गर्ने व्यापारीबीच सिधै सम्झौता भएको छ । यसले उत्पादित तरकारीको बजारको अभाव हुँदैन्”, उनले भने , “हामीले उत्पादन गरेको तरकारी खेर जान नसक्ने भएकाले किसान बेमौसमी तरकारीतर्फ आकर्षित भएका हुन् ।”

यहाँ उत्पादित तरकारी खरिदका लागि व्यापारीहरु किसानको बारीमा नै पुग्ने गरेको किसान विष्टको भनाइ छ । “हामीले उत्पादन गरेको तरकारी खरिद गर्नका लागि व्यापारीहरु खेतबारी मै आउने गरेका छन्”, उनले भने , “तरकारी खेर नजाने भएका कारणले हामीले कृषक समूह बनाएर व्यावसायिक तरकारी खेती गर्न तिर लागेका छौँ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्