एक वर्षमा ११ किमी सडक कालोपत्रे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आर्थिक वर्ष ०७७-७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।

नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १०० ढल निर्माण तथा सुधार गरेको जनाएको छ । डा उनले व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५०० मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७७५ मिटर नाला निर्माण सम्पन्न भएको बताए । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड लगानीे छ ।

“खड्गकाली मार्गको सङ्घीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौता पश्चात् काम भइरहेको छ,” शाखा प्रमुख डा पौडेलले भने , “बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कङ्क्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।”

यसैगरी दमौली केशवटार मार्ग केशवटार बजारमा ६ सय ६७ मी सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ । दमौली केशवटार मार्ग पोखरीभञ्ज्याङ बजार मा आठ सय मी सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मी नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८६५ मी सडक कालोपत्रे भएको छ भने ४२५ मी नाला निर्माण भएको छ ।

कलेस्ती मार्गमा एक हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मी नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७९० मी सडक कालोपत्रे भएको छ भने ४८२ मी नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

कमलबारी वडा कार्यालय मार्गमा ५५२ मी सडक कालोपत्रे भएको छ भने ५४४ मी नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग शिशाघाटमा ३०० मी सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मी नाला निर्माण भएको छ ।

नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक सङ्ग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्