नागरिकता वितरण सहज बनाउन जनप्रतिनिधिद्वारा ध्यानाकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

पाँचथर । नागरिकता लिन सेवाग्राहीले अनावाश्यक झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङसहितका जनप्रतिनिधिले यस्तो समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको एक सातासम्म समेत सेवाग्राहीले नागरिकताको प्रतिलिपि नपाएको, प्रमाणपत्रसम्बन्धी सामान्य विषयमा समेत प्रहरी मुचुल्का तयार पार्न प्रशासनले सिफारिस गर्ने गरेको गुनासो सुनिने गरेका छन् । समयमा काम नहुँदा सेवाग्राहीले सदरमुकाममा बसेर दैनिक जिल्ला प्रशासन कार्यालय धाउँदा ठूलो आर्थिक भार पर्नुका साथै प्रशासनको सेवा प्रवाहका विषयमा आम नागरिकमा तीव्र असन्तुष्टि पैदा भइरहेको बताउँदै जनप्रतिनिधिले यस्तो अवस्था तत्कालै हल गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री नेम्वाङसहित जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा र उपप्रमुख डिल्लीराम दुलाल, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन, फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङ, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ र तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सामूहिकरूपमा प्रजिअ न्यौपानेसहित सुरक्षा निकायका प्रतिनिधिलाई भेटेर यस्तो ध्यानाकर्षण गराएका हुन् । सो क्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी थिए ।

“सेवाग्राहीले निवेदन दिएपछि कागजात पुगेरनपुगेको समयमै हेरेर प्रक्रिया अगाडि बढाउन आवश्यक कागजातबारे जानकारी दिन तथा सामान्य विषयमा प्रहरी मुचुल्काका लागि सिफारिस गर्ने कार्य रोक्न हामीले भनेका छौँ”, पूर्वमन्त्री नेम्वाङले भने “तत्कालै समस्या हल गर्न सबै उपाय अपनाउनु आवश्कय रहेको हाम्रो निष्कर्ष हो ।” सेवाग्राहीले आफ्नो निवेदन कर्मचारीसम्म पु¥याउनै समय लाग्ने गरेको र त्यसपछि मात्रै कागजात नपुगेको, प्रक्रिया नमिलेकोजस्ता विषय कर्मचारीले उठाउँदा सेवाग्राहीले हैरानी व्यहोर्नुपरेको विषयमा गम्भीर बन्न जनप्रतिनिधिले आग्रह गरेका हुन् ।

जनशक्तिको अभाव पूर्ति गर्न तथा समय लम्ब्याएर भए पनि दैनिकरूपमा सेवाग्राहीका काम पूरा गर्न जनप्रतिनिधिले जोड दिएका छन् । समयमा काम नहुँदा जनस्तरमा जिल्ला प्रशासन कार्यालयको सेवाबारे गलत सन्देश प्रवाह भइरहेको पाइएकाले आगामी दिनमा सरकारी निकाय सचेत र गम्भीर हुनु आवश्यक देखिएको पूर्वमन्त्री नेम्वाङको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्दै गुनासो बढिरहेको छ । स्थानीय तहको निर्वाचन हुने चर्चापछि नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएपछि प्रशासनको सेवा प्रवाहबारे प्रश्न उठ्न थालेका हुन् । प्रशासनमा दैनिक औषत १०० सेवाग्राही नागरिकता लिनका लागि पुग्ने गरेका छन् ।
–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्