सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ५६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालले गोल गरेका थिए । तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै मछिन्द्रलाई ४–० गोलको जित दिलाए । यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । शिर्ष स्थानको मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ । ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यस्तै आइतबार हुने भनिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको हुने खेल स्थगित भएको छ । च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्