नवलपरासी । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।
अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै आजदेखि यही माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसूति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशालाबाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताए । “अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्थानै भएन”, सूचना अधिकारी सुवेदीले भने , “यस कारण केही दिन आकस्मिकबाहेकका सेवा बन्द गरेका हौँ ।”
जिल्ला अस्पतालमा कार्यरत २३ कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताए । पन्ध्र शय्याको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ ।