सहिद धर्मभक्तको नाममा मानवसेवा आश्रम निर्माण गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्ने भएको छ। सहिद धर्मभक्त माथेमाको सम्मान स्वरुप उक्त आश्रम महानगरपालिकाले निर्माण गर्न लागेको हो । महानगरका अनुसार नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं। ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुने भएको छ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ।

प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिनको स्मरण गर्दै महानगरले बिहीबार यस्तो घोषणा गरेको हो। आजकै दिन माथेमा जन्मिएको ठाउँ काठमाडौँ को ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा उनको पूर्ण कदको सालिक प्रतिस्थापनसमेत गरिएको महानगरले जानकारी दिएको छ।

यस अन्तर्गत बिहीबार शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शहीद माथेमालाई फांसीमा झुण्ड्याइएको काठमाडौंको सिफलमा काठमाडौं महानगरपालीकाले माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको छ । १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।

शहीद माथेमा राणाशासनको विरुद्धमा केही युवाहरुको सहयोगमा सन् १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणशासनविरोधी आन्दोलनमा होमिनुभएको थियो । यसअघि शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीप्रति उहाँलाई फाँसी दिइएको स्थान काठमाडौँको टेकुमा श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्