‘विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन’ : अर्थमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताए । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले ‘खर्च गर’ भनेर सचिवलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताएका हुन् । “पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा होइन”, उनले भने , “समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।” मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुनसक्ने÷नसक्ने योजनाको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्ने नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्नुहुँदै उनले खर्च गर्न सकिने तथा नसकिने योजनाको सूची बनाउन निर्देशन दिएका हुन् ।

खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले भने । त्यस्तै उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्