झापाका अधिकांश पालिकाले बनाए नयाँ भवन

Ad
  • कालोपाटी सम्बाददाता

झापा । जिल्लाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट जनतालाई सेवा प्रवाह गरिरहेका छन् ।

शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले फराकिलो स्थानमा नयाँ प्रविधिमैत्री भवन बनाएर कार्यालय सारेका छन् । यी पालिकाभित्र रहेका अधिकांश वडा कार्यालयले समेत नयाँ भवन बनाएका छन् । मेचीनगर नगरपालिकाले पुरानै भवनमा काम गरिरहेको छ भने दमक र विर्तामोड नगरपालिकाले पुरानो भवनलाई व्यवस्थित बनाई आवश्यक सुविधासम्पन्न भवन थपेर सेवा प्रदान गरिरहेका छन् ।

यसैगरी सात गाउँपालिकामध्ये झापा गाउँपालिकाले रु एक करोड ५६ लाख ८४ हजार ७७९को लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गर्दै आएकामा वडा नं ३ मा आफ्नै भवन निर्माण गरेर अब सेवा प्रवाह गर्ने भएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह भइरहेको बताए ।

स्थानीय देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेको जग्गामा बनेको भवनको पालिका अध्यक्ष जयनारायण साहले उद्घाटन गरेका छन् । कचनकवल गाउँपालिकाले समेत वडा नं ७ मा स्थानीय दाताले दिएको १५ कठ्ठा जमिनमा नयाँ प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ । डेढ वर्षअघिसम्म भाडामा रहेको कार्यालय हाल बनियानी स्वास्थ्यचौकी नयाँ भवन बनाएर सरेपछि सोही स्थानबाट पालिकाले सेवा प्रवाह गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

बाह्रदशी गाउँपालिकाले वडा नं ४ मा रहेको डेढ बिघा जमिनमा प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरे पनि बजेट अभावमा बनाउन नसकेको जनाएको छ । कार्यालयले पुरानो गाविसको भवनमा नयाँ भवन थपेर हाल सेवा दिइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए ।

हल्दिबारी गाउँपालिकाले वडा नं ५ मा स्थानीय दाताले प्रदान गरेको एक बिघा १८ कठ्ठा जमिनमा रु पाँच करोड बढीको लागतमा भूकम्प प्रतिरोधी, अपाङ्मैत्री सातवटा भवन बनाइसकेको छ । सो भवनबाट आगामी चैतको अन्तिम सातादेखि सेवा प्रदान गर्ने हिसाबले आन्तरिक तयारी भइरहेको पालिकाका सूचना अधिकृत राजन न्यौपानेले बताए । बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाले यसअघि नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेका छन् भने कमल गाउँपालिकाले पुरानै कार्यालयको छेउमा नयाँ भवन बनाइरहेको जनाएको छ । कमल, गौरीगञ्ज, हल्दिबारीलगायत पालिकाले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्