दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो । किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा वितरण गरेको हो । उनले भने, “केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएका हुन्।”

वालिङ नगरपालिकामा १९ माछापालक फार्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा वसन्त अधिकारीले बताए । पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएको उनको भनाइ छ । “यसले व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने छ ।”

केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो । माछापालन पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताए । “माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ, वालिङमा आवश्यक पर्ने माछा यहीँ उत्पादन गर्न सकिन्छ”, उनले भने । व्यावसायिक उत्पादनका लागि नगरपालिकाले यहाँका किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्