आगलागीबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ ।

आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने बताउनुभयो । त्यसैले परिसरले सावधानीका उपायबारे ११ बुँदे ध्यानाकर्षणसमेत सार्वजनिक गरेको छ । आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याँस सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न अनुरोध गरिएको छ । परिसरले विद्युतजन्य सामग्री ९हिटर, गिजर, पङ्खा, आइरन, एसी आदिलाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, पूजाकोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर नछाड्न र आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कन अनुरोध गरेको छ ।

यस्तै ग्याँस सिलिण्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न, ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए÷नभएको यकिन गरी प्रयोग गर्न, गाईवस्तु चरनका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ ।

आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्