मेलम्ची खानेपानी आयोजनाको गेग्र्यान हटाउने काम अन्तिम चरणमा

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो ।

आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना खुलाउन नसकिएकाले अस्थायी रुपमा चलाउन खुलाउनैपर्ने ठाउँमा मात्रै खुलाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले अस्थायीरुपले पानी चलाउन मात्रै संरचना बनाइएको छ र वर्षा सुरु भएर धमिलो पानी आएपछि त्यो बन्द गर्नुपर्छ । उनले भने अहिले गत वर्षजस्तै चाँडो मनसुन सुरु भएमा चाँडो बन्द गर्ने हुनसक्छ ।” सुरुङमा अहिले गेट नं १, ९ र ३८ मा मर्मतको काम भइरहेको समितिले जनाएको छ । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाउने र ३८ ले नियन्त्रण गर्नेछ र गेट नं ९ बाट पुनः खोलामा पठाउने गरिन्छ ।

यी तीन गेटमा मर्मत गरेर पानी अस्थायीरुपमा पठाइने र पुरिएका संरचनामध्ये अहिले गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफा भइरहेको सूचना अधिकारी पन्तले बताए । मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइको काम भइरहेको छ । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएको थियो । उनले भने , “सफा गर्ने काम अन्तिम चरणमा छ ।” गेट नं १ बाट अम्बाथान अडिटको मुखभन्दा तलसम्म खोलाको पानी बग्ने गरी स्लोप भिरालो जमिन बनाउनुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले गेट नं १ र ९ मा सफाइ गर्दा गहिरो खनिएको छ र त्योसँग मिल्ने गरी अर्को खन्नुपर्नेछ ।

त्यहाँका संरचना वर्षापछि १०-१६ मिटर पुरिएकामा अहिले हटाउन लागिएको छ । उनले भने “तह मिलाउने काम भइरहेको छ ।” आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायी रुपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायी रुपमा मान्छेले गर्नुपर्छ । आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् ।

बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् । बाढीका गत वर्ष आयोजनासँगैको बस्तीमा भौतिक र मानवीय क्षति भएको थियो । अहिले अस्थायीरुपमा ‘हेडवर्क’ मा काम गर्दा स्थानीयवासीलाई बेवास्ता गरेको धेरैको आशंका रहेको सूचना अधिकारी पन्तले बताए । स्थानीयवासीलाई राहत हुने गरी काम सुरु नगर्दासम्म आयोजना पुनः सञ्चालनमा ढिलाइ हुनसक्छ । उनले भने , “सरकारका सबै निकाय मिलेर स्थानीयवासीको माग सम्बोधनमा लाग्नुपर्छ ।” अस्थायी रुपमा पानी काठमाडौँ ल्याउनका लागि सुरुङभित्रको केही भागमा पानी निकाल्न बाँकी छ । अम्बाथान र ग्यालथुमबीचको खण्डमा पानी निकाल्न बाँकी रहेको उनले बताए । त्यो पानी हटाएर निरीक्षण गर्नुपर्छ ।

त्यसमा समस्या नभएमा पानी हाल्न सकिने छ । अम्बाथान अडिट सफा गरेर त्यहाँ रहेको गेट नं १७ खोलिनेछ । त्यहाँभित्र रहेको ग्यास बाहिर आएमा परामर्शदाता र विज्ञ पुगेर निरीक्षण गर्नुपर्छ सूचना अधिकारी पन्तले भने “सुन्दरीजलबाट सिन्धु र सिन्धुबाट ग्यालथुमसम्मको खण्डमा गेट खोलेर निरीक्षण गरिएको र त्यसमा समस्या देखिएन ।” सडक र संरचना मर्मतको काम अहिले अस्थायी रुपमा मात्रै गरिएको हो । स्थायीरुपमा सडक खुलाउन र संरचना मर्मत गर्न बाँकी छ । खानेपानी मन्त्रालय र एसियाली विकास बैंक एडिबी ले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ । अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्विक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ । यो आवको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउनसक्ने उनको भनाइ थियो ।

दुई दशकपहिले सुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गत वर्ष असार १ मा आएको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि वर्षाले आयोजनामा थप क्षति पुयाएको थियो । आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन् । अस्थायीरुपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाउने काम भइरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्