‘स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ’ : प्रधानमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भने । उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भने । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताए ।

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेको थियो । कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराउएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्