३५ लाख १९ हजार भन्दाबढि लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि धवलागिरिले रु २६ लाख र गुड नेवर्स इन्टरनेशनल नेपालले रु आठ लाख ३९ लाख ८३७ सहयोग गरेका उपभोक्ता समितिका सचिव गणेश खत्रीले बताए । “धारापानी काठमाडौँ समाजको रु १० हजार, धारापानी मगर सङ्घको रु २५ हजार, सिर्जनशील हिमाली युथ क्लबको रु १० हजार लगानी भएको छ”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।” साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकमस्थित वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक भएपछि विसं २०७७ माघमा धारापानीमा स्वास्थ्यचौकी स्थापना भएको थियो । किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो ।

एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी रहेको स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका वडाध्यक्ष कलानिधि सुवेदीले बताए । “भवन निर्माण भएपछि स्वास्थ्यचौकीको सेवाप्रवाह सहज भएको छ”, उनले भने , “प्रशासनिक, औषधि भण्डारण, बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ ।” भवन बनाउन सघाएको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङगम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालित छ ।

सङ्गमले शिक्षा, आयआर्जन साथै बालअधिकार बाल संरक्षणलगायतका क्रियाकलाप सञ्चालन गरेको छ । कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्