बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै, आफन्तकोमा अध्यापन गराउन अभिभावक बाध्य

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए ।

“बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागौँला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भने । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उनी बताउँछन् । मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन ।

विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए । उनका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भने । लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउँछन् ।

शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उनी बताउँछन् ।  “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उनले भने । लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताए । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उनको भनाई छ ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताए । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताए । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गरेका छन् । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उनले भने । विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताए । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भने । विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उनी बताउँछन् ।

“विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भने । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताए । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उनी बताउँछन् । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उनले भने । विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ । –रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्