पर्वतमा एक वर्षमा थपिए तीन सय उद्योग, २२ लाख ९० हजार राजश्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८-७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र २३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् ।  कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्षमा नै रु.२२ लाख ९० हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालु आर्थिक वर्षमा नेपालमा नै कम मात्रामा सञ्चालन भएका केराबाट धागो उत्पादन गर्ने गरी कुश्मा नगरपालिका–१ मा धागो उत्पादन उद्योग दर्ता भएको छ भने आयतलाई विस्थापन गर्ने गरी पानी उद्योग लगायतका विभिन्न उत्पादनमूलक उद्योग पनि दर्ता भएका छन् । यस वर्ष पर्यटनमूलक उद्योगहरु पनि दर्ता भई सञ्चालनमा आएको अधिकारीले बताए । पछिल्लो समय प्रदेश सरकारले कोभिडका कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आर्थिक वर्षमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए ।

प्रदेश सरकारबाट प्राइभेट फार्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनि बढ्दै गएका हुन् । ‘नागरिक आयआर्जनमूलक क्षेत्रमा आफैँ सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्,” उनले भने , “आयतलाई नै विस्थापन गर्ने गरी जिल्लामा उद्योग दर्ता हुने क्रम बढ्दै खुशीको कुरा हो ।” उनले उत्पादन तथा पर्यटनमूलक उद्योग सञ्चालनका कारण जिल्लाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने जिकिर गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्