दोलखाका पालिकाहरुको कुल बजेट ५ अर्व ६९ करोड ९६ लाख, पूर्वाधार विकासमा केन्द्रित

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखा जिल्लाका नौ वटा स्थानीय तहको कुल बजेटको आकार ५ अर्व ६९ करोड ९६ लाख १ हजार पुगेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को लागि जिल्ला स्थित ९ वटै पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । दोलखामा जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

जिल्लाका सबै स्थानीय तहको बजेटमा पूर्वाधार विकासलाई जोड दिईएको छ ।  भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट ल्याएकोमा पूर्वाधार विकास प्राथमिकतामा परेको छ । यसैगरी कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को लागि कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट ल्याएकोमा ६० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाएको छ ।

गौरीशंकर गाउँपालिकाले पनि पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि ५६ करोड ९८ लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा पालिका र वडाको पुर्वाधार विकासतर्फ मात्रै कुल १० करोड ९१ लाख रुपैँया बजेट प्रस्ताव गरिएको छ । यस्तै बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको ५५ करोड ४ लाख ३० हजार रुपैयाँको बजेटमा पुर्वाधार विकासमा सबैभन्दा बढि १० करोड ६० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव छ । सडक कालोपत्रे, सबै वडा कार्यालयको सुरक्षा घेरावार, स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

मेलुङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ६६ लाख २४ हजार रुपैयाँ छ । जसमा भौतिक पूर्वाधार विकासतर्फ २३ करोड ३३ लाख छुट्याईएको छ । जिल्लाको शैलुङ गाउँपालिकाले ६० करोड २ लाख १० हजार, तामाकोसी गाउँपालिकाले ६५ करोड ५ लाख ६४ हजार, जिरी नगरपालिकाले ५६ करोड ६९ लाख ७८ हजार रुपैयाँ र विगु गाउँपालिकाले ५५ करोड ४२ लाख ७० हजार रुपैयाँको बजेट ल्याएकोमा पूर्वाधार विकासतर्फ महत्वका साथ बजेट विनियोजनको प्रस्ताव गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्