बज्रबाराही चापागाँउ अस्पतालमा व्यवस्थित भवनको अभाव, उपचार सुविधा दिन कठिनाइ

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ । ‘राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनौँ’, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताए ।

उनले भने , ‘हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनौँ । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ ।’ हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए । ‘आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छौँ । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौ’, उनले थपे ।’

अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए । उनले भने ,’अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ ।’ उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भईरहेको बजगाईंको बुझाइ छ ।

सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताए । उनले भने , ‘भवनसँगै चिकित्सकको पनि अभाव छ ।’ अस्पताल अहिले १५ शैयाको । साथै २५ शैयाको स्वीकृत पाइसकेको र पछि पुनः एक सयसम्मको हुने योजनामा अघि बढिरहेको कार्कीले जानकारी गराए ।

चापागाउँ अस्पतालले बहिरङ्ग, २४औँ घण्टे विभिन्न आकस्मिक तथा परिवार नियोजन सेवा, रगत र कोरोना परीक्षण, क्षयरोग सम्बन्धित खकार जाँच, एक्स–रे एवं भिडियो एक्स–रे हुँदै दुई एम्बुलेन्समार्फत बिरामीलाई सेवा दिइरहेको दर्नालको भनाइ छ । विगतमा ‘बज्रबाराही सामुदायिक अस्पताल’ को नामले सञ्चालन भएको सो अस्पताल हाल भने ‘बज्रबाराही चाँपागाउँ अस्पताल’ को नामले उपचार सेवा दिइरहेको छ ।

सो अस्पतालमा गोदावरी, दक्षिण ललितपुरका वाग्मती तथा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिकाका हुँदै मकवानपुरवासी समेत सेवा लिन आउने गरेका बजगाईँले सुनाए । अस्पतालमा कोभिड परीक्षण गर्ने पिसिआर प्रयोगशालासहित अक्सिजन उत्पादन गर्ने प्लान्टकोसमेत व्यवस्था छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्