बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा बुधबार बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको  जानकारी दिए । विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र  त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए ।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौंको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्