नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान आयोजना, नेपालमा प्रयोग बढाउन उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा बुधबार २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो । नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि उक्त अभियान आयोजना गरिएको सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिएका छन् ।

नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताए । होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीईभीटीले निर्माण गरेको उनको भनाइ छ ।

वरिष्ठ सेफ शीतल खनालले नेपाली खानाको प्रवद्र्धनमा नेपाली सेफहरुले काम गर्दै आइरहेको बताए । स्वदेशमा उत्पादित अलैँचीलाई स्वदेशमै प्रयोग गर्न यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्