धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै ताराघारीको महादेव गुफा

Ad
  • कालोपाटी सम्बाददाता

उदयपुरको कटारी–३ ताराघारीस्थित महादेव गुफा अहिले धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ । दशकअघि एउटा सामान्य गुफाको रुपमा परिचित महादेव गुफाको संरचना अहिले लोभलाग्दो र रमणीय तीर्थस्थलका रुपमा परिचित हुँदै गएको छ ।

प्रदेश १, वागमती, मधेस प्रदेशका अलावा भारतबाट यहाँ तीर्थालुहरु आउन थालेको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवार बताउछन्  । “पूजा आराधनाबाट मात्रै वार्षिक तीन लाख बढी भेटी उठ्छ”, सुनुवार भन्छन्  , “यहाँ पूजा आराधना तथा घुम्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।”

गुफा परिसरलाई प्रदेशकै नमूना गुफा परिसर बनाउन लागि परेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउछन्  । “यसलाई नमूना धार्मिकस्थलका रुपमा विकास गर्न लागि परेका छौँ”, गुफामा वर्षेमा एक लाख बढी तीर्थालु आउने गरेको पनि थापाले जानकारी दिए  । विसं २०४० तिर स्थानीय गोठालाले नजिकैको अप्ठ्यारो पाखोमा गुफा पत्ता लगाएका थिए ।

अहिले गुफासम्म जाने सिँढी, रेलिङ, पानीका धारा, होम यज्ञ गर्ने, कार्यालय, धर्मशाला, पुजारी भवन, शौचालय, आकर्षक र बगैँचा बनेसँगै यहाँ पर्यटक आउन थालेका छन् । अन्यत्रबाट गुफा आइपुगेकाले यसलाई उत्कृष्ट गुफा भएको बताएको स्थानीय युवा अमित श्रेष्ठ बताउछन्   ।

निकट भविष्यमै परिसरमा धार्मिक ग्रन्थको पुस्तकालय, सांस्कृतिक कला प्रशिक्षण केन्द्र, विभिन्न खेल मैदान, नजिकैको उचाइमा रहेको डाँडामा बौद्ध स्तूपा, भ्यु–टावर, चौतारा बनाउने तयारी रहेको समितिले जनाएको छ । अहिले परिसरमा दर्जनौँ मृग र वन्यजन्तु आउने भएकाले पानी खाने ठाउँ, सुन्दर बगैँचा निर्माण गरिएको छ । गुफामा साउने सोमबार, एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमीमा लाखौँ भक्तजन आइपुग्ने गरेका छन् ।

गुफामा विवाह, ब्रतवन्ध, महायज्ञ, सप्ताह, पुराण, रुद्री, ग्रहजाप र सतविज छर्ने परम्परा बसेको छ । महादेव गुफामा पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।

सिद्धिचरण राजमार्गसँगै जोडिएको र नजिकै कटारी बजार रहेकाले तीर्थयात्रा गर्नेका लागि महादेव गुफा नयाँ गन्तव्य बन्दै गएको छ । गुफाक्षेत्रलाई पूर्वाञ्चलकै नमूना गुफा परिसर बनाउन लागि परेको व्यवस्थापन समितिले अहिले आधिकारिक दर्ता प्रमाणीकरण गरिसकेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्