सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त

sudur
Ad
  • कालोपाटी सम्बाददाता

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्  ।

अन्ठाउन्न वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन्  । उनी  हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका  थिए  । यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका  थिए  ।

उहाँलाई नेकपा (माओवादी केन्द्र) का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक गरी २९ जना सदस्यको समर्थन रहेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको प्रदेशसभा सदस्यको टोलीमा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टसहितका प्रदेशसभाका सदस्य सम्मिलित थिए  ।

प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न एक हप्ताको समय दिएका  थिए  । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो । प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रिय सत्ता गठबन्धनमा भएको थियो ।

सोही सहमतिअनुसार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराउनुभएको छ । सभामुख पदमै नेपाली कांग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका  छन्  । आजै सभामुख पदको उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यतालिका थियो ।

मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्यको समर्थन जुटाउन सकस भएको थियो । अपराह्न ४ः३० बजेसम्म पनि कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीले भने तोकिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलका पक्षमा बहुमत पु¥याउन समर्थन जनाएको थियो ।

सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइ नगरिएसम्म सरकारमा सहभागी नहुने र सरकार गठनमा समेत सहयोग नगर्ने अडान राख्दै आएको थियो ।

प्रदेशसभाको ठूलो दल कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एकजना सदस्य छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्