पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

gajakodaha
Ad
  • कालोपाटी सम्बाददाता

ढोरपाटन, १८ माघ : अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।

प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ ।

वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए  ।

दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापा बताउनुहुन्छ । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको  भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताउछन्  । “अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन”, छन्त्यालले भने , “प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।”

पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उहाँको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी  बताउछन्  । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्याल बताउछन्  ।

सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आउनुभएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए  । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले  बताए  ।

क्षेत्री भन्छन् , “फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए  । उनले  यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए  । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।

उपप्रमुख शर्मा भन्छन् , “यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।”

अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउछन्  । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको शर्माले जानकारी दिए  । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको  भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्