महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु पर्दैन: अटो चालक अनिता सारु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनले भनिन् , ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्किन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ ।

महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । उनले भनिन्, ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु । महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’

त्यस्तै, अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । अनिताले भनिन्, ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु । मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ ।’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन् । सारुले भनिन्, ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ । महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अनिता जस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्