अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरले ६ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाख रुपैयाँका दरले सो रकम प्रदान गर्न लागेको हो ।

महानगर प्रमुख धनराज आचार्यले दुबै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिएका छन् । महानगरको यसका लागि आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठकसमेत आयोजना गरेको थियो । प्रमुख आचार्यले भने, ‘अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ । छिमेकी पालिकालाई २५ लाख रुपैयाँका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौँ ।’

महानगरको चालु आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरेको थियो । बैठकमा कास्कीको रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

सो क्रममा छिमेकी पालिकामा भए-गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दैगर्दाका अनुभवसमेत आदानप्रदान गरिएको छ । आगामी बैठक कास्कीको रुपाको व्यवस्थापनमा तीन महिनाभित्रमा बस्ने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्