पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका युवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका-६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्र रसाइलीले बताएका छन् ।

पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताएका छन् । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी बनाउने उनले जानकारी दिएका छन् । उनले स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको जनाएका छन् ।

विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उनको भनाइ छ । उनले कतिपय खण्डमा मेहनत अनुसारको आम्दानी लिन समस्या हुने गरेको बताएका छन् । व्यवसाय सञ्चालनमा कच्चा पदार्थ र बजारको समस्या रहेको उनको भनाइ छ । रसाइलीले सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको बताएका छन् ।

उत्पादन गरेको खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उनको बुझाइ छ । उनले यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । दिनानुदिन कालिगड पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ-६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिएका छन् । भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उनको भनाइ छ । पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्