तमानखोला गाउँपालिकाद्धारा ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बराह ताल समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा छ । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।

बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ । घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन । गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला-२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ । पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ । तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या छैन । ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा त्यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन । गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन् । केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो ।

यस्तै, गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन् । वर्षौँ पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन् । गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला-२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म १ करोड रुपैयाँ बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिएका छन् ।लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ ।

गाउँपालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उनले जनाएका छन् । पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताउँछन् । ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन् । त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ । यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन् ।स्थानीय तिलकुमारी रसाइलीले अहिले बराह ताल राम्रो बनेको जानकारी दिएकी छिन् । पहिलेपहिले पुशचौपाया र त्यहाँ आउने मान्छेले ताल फोहर गर्ने गरेको जनाउँदै उनले अहिले पानी सफा रहेको बताएका छन् ।

३ वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक त्यहाँ घुम्न जाने गरेकामा अचेल हरेक महिना तालमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको रसाइलीले बताएकी छिन् । तालसम्म बाटो पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न र यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्