कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान आकर्षित..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय त्यहाँका तीन पालिकामा १ सय ५० हेक्टर जमिनमा कफी लगाइएको छ ।

उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । मिक्लाजुङमा १ सय १० हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताएका छन् । उनले भने, ‘किसानले उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ ।’ लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गरेका थिए ।

छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उनले भने, ‘हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पुर्याउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।’ प्रतिरोपनी वार्षिक रु १ लाख आम्दानी हुने उनको जिकिर थियो । कृषक राईले भन्छन्, ‘पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ । कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु । उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु । काठमाडौँ पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुर्याउन सकिएको छैन ।’

नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट रु ९० प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु ५ सयदेखि रु ५ सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु १ हजार ८ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु २ हजार २ सय ५० का दरले कफी बिक्री हुने गरेको छ । कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायीकरूपले कफी खेती गरेका छन् ।

यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताएका छन् । गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उनको भनाइ थियो । उनले भने, ‘कफीबाट आर्र्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ । हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ । आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ ।’ नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । मुख्यत:अरेविका जातको कफीले राम्रोे उत्पादन दिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्