घर खर्चको जोहो गर्न मादल व्यवसाय सञ्चालन गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनले त्यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आएका हुन् ।

चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताएका छन् । राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् । ‘आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन् । दसैँ तिहारकोबीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ’, वादीले भने, ‘व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । मादल बिक्री गरेरै वर्षमा रू २ लाखदेखि ३ लाखसम्म आम्दानी हुने गरेको छ । बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन् ।’ उनका अनुसार अहिले पसलबाट दमाहा, डमरु र मादल बिक्री भइरहेका छन् ।

यस्तै, एउटा मादल रू २ हजार ५ सयदेखि रू २५ हजारसम्म बिक्री हुने गरेको वादीले जनाएका छन् । मादल बनाउने काठलगायत आवश्यक अन्य सामग्री गाउँमै उपलब्ध हुने भएकाले सामग्री जुटाउन समस्या नरहेको उनले बताएका छन् । मादल बनाउने पेसामा वादीको दम्पतीनै लागेको छ । आफूले मात्रै माग धान्न नसकेपछि एक जनालाई रोजगारसमेत दिएको उनको भनाइ छ ।

कामदारका रूपमा मादल बनाउने पेसामा लागेका ५६ वर्षीय गगन वादीले आफू यो पेसामा लागेपछि चाडपर्वलगायत अन्य खर्चमा सहज भएको सुनाएका छन् । ‘विगत पाँच वर्षदेखि यहाँ काम गरिरहेको छु । यहाँ वार्षिक काम गरेमा रू १ लाखदेखि डेढ लाखसम्म कमाइ हुन्छ’, उनले भने । यही पेसाले जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । व्यावसायिक रूपमा मादल बनाउने पेसामा लाग्नुभएका मङ्गले, वादी समुदायको जीवनस्तर माथि उकास्न र वादी समुदायको व्यवसायलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले चासो देखाउनुपर्ने र आर्थिकरुपमा सहयोगको गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

दलित तथा वादी समुदायका लागि क्षमता विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा रू १० लाख बजेट विनियोजन गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार दलित तथा वादी समुदायलाई सोही बजेटबाट सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्