‘विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएको विज्ञसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारेका छन् । ‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबन्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ । यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ’, प्रधानमन्त्री दाहालले भने । उनले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गरेका छन् ।

उनले आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताएका छन् । ‘देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको हो’, उनले भने, ‘अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो छ । यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्छ ।’

छलफलमा डा.केदारभक्त माथेमा, डा.पीताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्राध्यापक कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्व सहभागी थिए । उनीहरूले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए । उनीहरूले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुन:संरचना गर्नेगरी सुधार थाल्न सुझाव दिएका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्