आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ: मुख्यमन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीन दिने तालिमको उद्घाटनमा उनले यस्तो जोड दिएका हुन् ।

उनले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याएका छन् । मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिएका छन् । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औँल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्