बिहीबारको मौसम पूर्वानुमान: तराईमा हुस्सु, पहाडी भू-भागमा वर्षाको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागमा हुस्सु लागेको छ । बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

तराईका अधिकांश स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । देशभर चिसो बढिरहेको हुँदा यसको असरबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्