लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्रीको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आइतबारदेखि सुरु गरेको १५ दिने ५औँ दमक महोत्सवको उद्घाटन गर्न झापा गएका उनले कार्यालयको वर्तमान अवस्थाको जानकारी लिएका हुन् ।

अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका छन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिएका हुन् । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरेका छन् ।

‘राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ’, अर्थमन्त्री महतले भने, ‘राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।’ उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको जानकारी दिएका छन् । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरेका छन् ।

सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिठ्ठा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएका थिए । निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्