नुवाकोटको इतिहासलाई हाइकिङमार्फत पर्यटनसँग जोड्दै हाइकर्स क्लब

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हाइकर्स क्लब नेपालले आफ्नो ४३औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रर्वधन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको हो ।

पोखरा र आसपासका विशेषगरी ग्रामीण क्षेत्रका पर्यटकीय स्थललाई हाइकिङका माध्यमबाट प्रर्वधन गर्दै आइएकोमा यस पटक स्याङ्जाको नुवाकोट कालाभैरव मन्दिरलाई लक्षित गरिएको हो । क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार यस संस्करणमा पोखराको छोरेपाटन हुँदै दोपहरे पुगी त्यहाँबाट हाइकिङ गर्दै कृष्ति मट्टिखान, दुवाकोटबाट नुवाकोट कालाभैरव मन्दिरसम्म पुगिएको हो । ‘यस क्षेत्रकै प्राचीन इतिहास रहेर पनि प्रर्वधन हुन नसक्दा अपेक्षित रुपमा पर्यटकीय उपयोग हुन नसकेको वास्तविकतालाई दृष्टिगत गरी हामीले ४३औँ संस्करणका लागि स्याङ्जा नुवाकोटलाई रोजेका हौँ’, उनले भने, ‘पर्यटकीय राजधानी घोषणा हुँदै गरेको पोखराको पर्यटकीय विकाससँगै आसपासका पर्यटकीय गन्तव्यको पनि प्रर्वधन अपरिहार्य छ ।’ पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर रहेको उनले बताएका छन् । इतिहास अनुसार १५औँ शताब्दीको प्रारम्भतिर विसं १५-१०मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए ।

तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ । तत्कालीन समयमा यो स्थल नुवाकोट राज्यका रुपमा चासो र चर्चा कमाएको थियो । यो ठाउँ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करिब १५ किमी उत्तर फेदीखोला गाउँपालिका वडा नं २, पुतलीबजार नगरपालिका-४, ५को सङ्गममा समुद्री सतहबाट करिब १ हजार ९ सय मिटरको उचाइमा रहेको छ । तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका सचिव शिवप्रसाद गौतमले जानकारी दिएका छन् । उनका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

यस्तै, विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्की जस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् । तत्कालीन शासकले १५औँ शताब्दीतिर यस स्थानमा कालाभैरवका साथै सुनकेशरीदेवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरेको पाइन्छ । धार्मिक एवं पुरातात्विक महत्वको नुवाकोट कालाभैरवको संरक्षण र विकाससँगै यसको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नु अपरिहार्य भएको सचिव गौतमको भनाइ छ । कालाभैरवको दर्शन गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको त्यहाँका स्थानीयवासीको भनाइ छ । प्राचीनकालदेखि नै कालाभैरवको मूर्ति (शिला) छोपेर राखिएको छ । उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास रहेको छ ।

कालाभैरवको पूजाविधि प्राचीनकालदेखि नै निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा विसं १९९४ वैशाख ३१ गते बिहीबार लेखिएको पूजाविधि अहिले पनि सुरक्षित रहेको बताउँदै सचिव गौतमले त्यही विधि अनुसार ३ सय ६५ दिन नै कालाभैरवको पूजाआजा हुने गरेको जनाएका छन् । इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमिथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो । तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिकस्थलमा राज्यले चर्चेका भू-भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ ।

त्यहाँको इतिहासलाई पर्यटनसँग जोड्न सकेमा धेरै संख्यामा धार्मिक पर्यटक त्यहाँ भित्राउन सकिने देखिन्छ । त्यहाँबाट देखिने माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमाली दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ । इतिहासको संरक्षण र संवद्र्धनको अभावमा धेरै ऐतिहासिकस्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित त्यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ । स्थानीय तहबाट त्यहाँको प्रर्वधनलाई जोड दिइएको फेदीखोला गाउँपालिका-२का वडाध्यक्ष अविलाश गुरुङले बताएका छन् । प्रत्येक वर्षको फूलपाती बढाइँमा गाउँपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै उनले त्यहाँस्थित टुँडिखेलको नेपाली सेनाले संरक्षण र विकासमा सहयोग गरिरहेको जनाएका छन् ।

पोखराबाट नजिकैको गन्तव्य भएका कारण नुवाकोट कालाभैरव एक दिवसीय हाइकिङका लागि उपयुक्तस्थल भएको हाइकर्स क्लबका सदस्य पितम सेनको भनाइ छ । छोटो दुरीमा रहेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रर्वधन गर्ने क्लबको योजना अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न गन्तव्यको प्रर्वधन गर्दै आइएको उनले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्