नेपाली सेनाद्धारा फागुन १२ गते वीरेन्द्रनगरमा दौड प्रतियोगिता आयोजना गर्ने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता-२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाइएको हो ।

कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताएका छन् । उनले भने, ‘सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन । यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रम पनि गर्दै आएको छ । हामीले सेना र प्रेसबीचको अन्तरसम्बन्धमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौँ ।’

महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधानप्रदत्त र जङ्गीअड्डाद्वारा निर्देशित कार्यक्रम गर्दै आएको जनाएका छन् । ‘उत्तर-पश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्ला गरेर ३१ हजार ८ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर-दक्षिणका जिल्ला हेर्दै आएको छ’, महासेनानी खड्काले भने, ‘जाजरकोट भूकम्पका बेला १ हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका काम गरिएको थियो ।’ उनले यही फागुन १२ गते कक्षा ८ देखि १२ सम्मका लागि महिला र पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलोमिटर र हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष दौड प्रतियोगिता हुने जानकारी दिएका छन् ।

महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमश:रु १०, ५ र ३ हजार पुरस्कार दिइनेछ । त्यसैगरी १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई रु २०, १५ र १० हजार तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई रु ३५, २५ र १५ हजार पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्