राष्ट्रपति पौडेलद्वारा शालीनदीमा अर्चना !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पुगेर पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथा अन्तर्गतको माधवनारायण मेलामा आइतबार बिहान राष्ट्रपति पौडेल पुगेर पूजा, अर्चना गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरेका छन् । साथै, उनले शालीनदीमा जल अभिषेक गरेका छन् । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरेका छन् । नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुुसीको विषय भएको बताएका छन् ।

बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर-८का वडाध्यक्ष पोते थिङ र वडा नं ४का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए । उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन् ।

उक्त अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुन:निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए । उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुन:निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्