बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बेलायतका विकासमन्त्रीले लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका हुन् ।

बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ-शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव डा जनार्दत पन्थी, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका छन् । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे बताएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुन:स्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा थापाले बताएका छन् ।

बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको नगर प्रमुख पाण्डेयको भनाइ छ । सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल-अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरुप प्रदान गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्