तनहुँमा जन्ती जीप दुर्घटना: मृतकको सङ्ख्या ३ पुग्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र १६ जना घाइते भएका हुन् ।

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन् । दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रमाइलो माहोल एकाएक शोकमा बदलियो:

छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो । तर, अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो ।आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो ।

दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ । आँबुखैरेनी-६का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताएका छन् । उनले भने, ‘खुसीको क्षणलाई दुर्घटनाको दु:खद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ ।’ गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो । उनले भने, ‘दुई वटा गाडी घर पुगिसकेको थियो । आफन्तहरु चढेको बोलेरो जीप दुर्घटना भयो । घाइतेहरु पनि आफन्त नै हुन् ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्