त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९-८०मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु ६ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमश:बढिरहेको उल्लेख गरेका छन् । विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

यस्तै, विमानस्थलले आर्थिक वर्ष २०७७-७८मा रु २ अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोभिड-१९का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२मा यो सङ्ख्या ७९ लाख ५४ हजार ४ सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो ।

यसैगरी एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १ सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ । कोभिडअघि सन् २०१८मा ७१ लाख ९० हजार ९ सय १२ र सन् २०१९मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । यो सङ्ख्या कोभिड-१९ अघि सन् २०१८को भन्दा ४.५प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ ९ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्