काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा, अन्तर्राष्ट्रिय उडानहरु प्रभावित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जनाएका छन् ।

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा ४.८ मिलिमिटर वर्षा भएको छ । मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।’

यसैगरी शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरेका छन् । मौसमविद् कँडेलले भने, ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन । तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।’

पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’

काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । बिहीबार अपराह्न्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ । तर, अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्