अर्थमन्त्री भन्छन्: ‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशरण महतले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्ने बताएका छन् । । नुवाकोटको शिवपुरी गाउँपालिका-४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको जानकारी दिएका छन् ।

‘गाउँगाउँमा उत्पादन बढाएर गाउँका सहरमा पुर्याउनुपर्छ’, उनले भने, ‘पूर्वाधारको विकास र प्राविधिक-आधुनिक शिक्षामार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित छ ।’ युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ-नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीको भनाइ छ । ‘अहिले विकासको रफ्तार सुरु भएको छ । गाउँगाउँमा सडक सहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यन्त्रिकरणबाट उब्जनीलाई बढावा दिँदै ती सामग्री सहरमा पुर्याउनुपर्छ’, उनले भने, ‘सडकसहित सिँचाइ, खानेपानीलगायत ग्रामीण पूर्वाधार विकासमा चालु आर्थिक वर्षदेखि सरकारले प्राथमिकता दिएकाले मुलुकमा विकासले नयाँ फड्को मार्ने चरणमा प्रवेश गरेको छ ।’

त्यस्तै, लामो समयसम्म शिथिल बनेको देशको अर्थतन्त्रमा सुधार हुँदै गएको तथा गाउँमै केही गर्न सकिन्छ भन्ने उद्यमी पनि रहेका दृष्टान्त प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने, ‘सुधारिएको अर्थतन्त्रले रोजगारी र उद्यमी बढ्ने क्रममा छन्, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाको व्यवस्था गरेर सरकारले गाउँ केन्द्रित नयाँ कार्यक्रम सञ्चालनमा जोड दिइएको छ । कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन । परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।’ उनले व्यावसायिक कृषिमा लाग्न स्थानीय किसानलाई सुझावसमेत दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्