‘देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन् । सहिद प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उनले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्नेमा जोड दिएका छन् । सो अन्र्तक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाँउमा केन्द्रित हुन जरुरी रहेको जनाएका छन् । सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनको भनाइ छ ।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ-नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।’ प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरेका छन् । ‘नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ’, प्रधानमन्त्रीले भने ।

त्यस्तै, उनले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गरेका छन् । उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाएका छन् । प्रधानमन्त्रीले भने, ‘ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाँउमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्