नेपालगन्ज कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालगन्जको कारागारमा कैदीबन्दीको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको हो ।

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिएका छन् । ‘कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ’, उनले भने, ‘अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरूह बन्दै गएको छ ।’ कारागाराका कैदीबन्दीका लागि सरकारले प्रतिदिन जनही नगद रु ८० र २ सय ग्राम चामल दिने गरेको छ । दाल, तरकारी, नून, तेल रु ८० वाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ । यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर कपडा र दुई-दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ ।

त्यस्तै, तीन सय क्षमताको कारागारमा हाल ९ सय ६ जना कैदीबन्दी छन् । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको कारागारको भौतिक अवस्था पनि जीर्ण भइसकेको छ । ‘नौवस्ताको क्षेत्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्न सम्बद्ध निकायसँग माग गरेका छौँ’, जेलर शाहले भने, ‘सो कारागारको भौतिक पूर्वाधार निर्माण सकिए पनि सञ्चालन प्रक्रिया सुरु नभएकाले कैदीबन्दीलाई सार्न ढिलाइ भइरहेको छ ।’ बाँके जिल्ला कारागारमा खचाखच गरी राखिएका कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेट अपुग भएको उनको भनाइ छ । ‘उपचार खर्च अपुग भएपछि केन्द्रीय कारागार विभागसँग थप रकम माग गर्दै आएका छौँ’, जेलर शाहले भने ।

यसैगरी कैदीबन्दीको उपचार नेपालगञ्जको भेरी अस्पतालमा हुने गरेको छ । तर, कुनै कैदीबन्दीले आफ्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहाँसमेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउँछन् । कारागार प्रशासनले कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा दुई वर्षअघि भएको कैदीबन्दीको आन्दोलनमा प्रहरीले कारबाही गर्दा दुई कैदीबन्दीको ज्यान गएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्