राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको मंगलबारको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत-परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी हुन् ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन् । त्यसैगरी दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

यस्तै, सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए । साथै, काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए । सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्