‘वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी छ’:-सङ्ग्रौला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छिन् । महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकी हुन् ।

उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याएकी छिन् । अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरेकी छिन् । नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीय स्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले जानकारी दिएका छन् ।

राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रर्वधनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ छ । पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरेका छन् । मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने उनको दाबी छ । सङ्ग्रौलाले यो पद्धतिलाई आत्मसात् गरेर मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेको जनाएकी छिन् ।

त्यस्तै, आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्