मिथिला माध्यमिकी परिक्रमा सोमबार सम्पन्न हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मिथिला माध्यमिकी परिक्रमा सोमबार सम्पन्न हुँदैछ । यस वर्षको मिथिला माध्यमिकी परिक्रमा मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा सोमबार जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १ सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो । अन्तिम अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६औँ दिन बिहान अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ । मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

यस्तै, जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्र्तगृहमा सहभागी हुन्छन् । मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ । मध्यमा र आजको अन्तर्गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् । मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा सोमबार र मंगलबार दुवै दिन होरी (होली, फागु) खेलिने साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् । राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व मनाइने परम्परा रहेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्